×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लामिछानेको थुनामुक्तिको रिट आजपनि 'हेर्दाहेर्दैमा', शुक्रबार पुनः हुने

लामिछानेको थुनामुक्तिको रिट आजपनि 'हेर्दाहेर्दैमा', शुक्रबार पुनः हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमाथिको सुनुवाइ बिहीबार पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी आफूलाई थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने उनको माग छ। सोही मुद्दामा जिल्ला अदालतले थुनामा पठाएका छविलाल जोशीको निवेदनमाथि पनि सँगै सुनुवाइ भइरहेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार र बिहीबार सुनुवाइ भए पनि बहस सकिएको छैन। अब शुक्रबारका लागि पेशी तोकिएको छ।
बिहीबार लामिछाने र जोशीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले बहस गरेका थिए। शुक्रबार जाहेरवालाका वकिलले बहस गर्नेछन् र त्यसपछि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी बहस गर्नेछन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि लामिछाने गत चैत २२ गते पक्राउ परेका थिए।
हाल लामिछाने रुपन्देही जिल्ला कारागारमा छन्। उनीसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि त्यहीँ कारागारमा छन्।
एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको तर लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उक्त पुनरावेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पनि थुनामै राख्न आदेश दिएको थियो।
 

प्रतिकृया दिनुहोस्