धनगढी- कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लम्कीचुहा नगरपालिका–१० स्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँका २८ वर्षीय टेक रावलको मृत्यु भएको हो ।
सोमबार बिहान ७ बजेको समयमा लु १ (ख) ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप ०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यस्तै ट्रक र चालक सुर्खेत बराहाताल गाउँपालिका १० का ३१ वर्षीय बुद्दीराम सुनारलाई प्रहरी नियन्त्रणमा लिएको छ । मृतक रावल दुई वर्षअघि पनि सोही ठाउँमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।