काठमाडौं, नेकपा एमालेको माधव नेपाल समूहका १५ नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध एक हुन आह्वान गरेका छन् ।
यसअघि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन नगरेर नेता नेपालसँग टाढिएको ठानिएका नेता योगेश भट्टराई र गोकर्ण विष्टले पनि संयुक्त विज्ञप्तिमा सहभागिता जनाएका छन् ।
विज्ञप्तिमा ओलीविरुद्धको निर्णायक संघर्षमा होमिन अपिल गरिएको छ। ओलीले एकलौटी रुपमा यसअघि ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको र थप १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति कडा आपत्ति जनाइएको छ।
‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं।’