काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी सचिवालय र केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता र सांसद पदसम्बन्धी सर्वोच्च अदालतको फैसलाका विषयमा छलफल गर्न उक्त बैठकहरू बोलाइएको हो।
रास्वपाले दिएको जानकारीअनुसार, आज दिउँसो ३ बजे पार्टी सचिवालयको र ४ बजे केन्द्रीय समितिको भर्चुअल (अनलाइन) बैठक बस्नेछ।
त्यसैगरी, भोलि (आइतबार) दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको भौतिक बैठक आयोजना गरिनेछ।
यसअघि, शुक्रबार सर्वोच्च अदालतले पार्टी सभापति लामिछानेको विपक्षमा फैसला सुनाएपछि रास्वपा केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक बसेको थियो। सोही बैठकले आज र भोलिका लागि यी थप बैठकहरू डाक्ने निर्णय गरेको हो।