×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको रातोपाटीलाई बताए । उनका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

जसअनुसार बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको  सहभागिता रहनेछ ।

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । यो बीचमा विभिन्न तहमा छलफल भएपनि सहमति जुट्न नसकेपछि राष्ट्रपतिले अग्रसरता देखाएका हुन् ।

आजैमात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए । तर उक्त बैठक निष्कर्षविहीन बनेको थियो ।

अब राष्ट्रपतिले अग्रसरता लिँदै दलका नेताहरुलाई शीतल निवासमा बोलाएर सहमतिको लागि आग्रह गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्