काठमाडौं- रुसले तीन दिनमा दोस्रो पटक युक्रेनमा आक्रमण गरेको छ। यी आक्रमण सूर्योदयअघि गरिएको थियो। रुसले डिनिप्रो सहर नजिकै पाभलोराड नामक सहरमा आक्रमण गरेको थियो, जसको युक्रेनले जवाफ दिएको थियो।
यस आक्रमणमा ३४ जना घाइते भएका छन्। दर्जनौं घर ध्वस्त भएका छन् र धेरै ठाउँमा आगलागी भएको छ। त्यसको केही घण्टापछि देशका धेरै क्षेत्रमा ‘रेड अलर्ट’ सुनिएको थियो। युक्रेनी सेनाले देशमा प्रहार गरिएका १८ मध्ये १५ वटा क्षेप्यास्त्र खसालेको बताएको छ। पाभलोराड सहर सबैभन्दा बढी पीडित भएको छ। सामाजिक सञ्जालमा सेयर गरिएका भिडियो र तस्विरमा आगलागी देख्न सकिन्छ।
एक स्थानीय ओहला लिट्भिनेन्कोले भनिन्, 'म बाहिर निस्कन तयार हुँदै थिएँ, ब्याङले दुबै ढोका भत्कियो। म बाहिर दगुरेँ, ग्यारेज ध्वस्त भएको देखेँ। सबै जलिरहेको थियो, भाँचिएको सिसा छरिएको थियो। हामी बाहिर भएको भए मारिन्थ्यौं।'
युक्रेनी सेनाका अनुसार आक्रमणमा १९ तले अपार्टमेन्ट, २५ निजी घर, ६ वटा विद्यालय र किन्डरगार्टेन तथा पाँच पसलमा क्षति पुगेको छ। आक्रमण रेलवे पूर्वाधार र इन्धन डिपोमा लक्षित रहेको बताइएको छ।
हवाई आक्रमणको चेतावनी स्थानीय समय अनुसार बिहान ४ बजे किभमा सुनिएको थियो र करिब तीन घण्टासम्म चलेको थियो। सैन्य प्रशासनले राजधानीतर्फ आइरहेका सबै क्षेप्यास्त्र र ड्रोनहरू नष्ट भएको जनाएको छ।