काठमाडौं - धनकुटामा प्रहरीले बुधबार ८ वर्षीय बालक सुहाङ लिम्बूको उद्धार गरेको छ। छथरजोरपाटी गाउँपालिकामा उनलाई दुई महिनादेखि बाँसको टाटीले बारेर बनाइएको गोठमा राखिएको थियो।
प्रहरीका अनुसार, बालकको मानसिक सन्तुलन ठीक नभएको र आफूहरू काममा जाँदा सुरक्षाका लागि त्यसो गरेको परिवारले बताएको छ। आर्थिक अवस्था कमजोर भएका र चेतनाको कमीले उनीहरूले छोरालाई अस्पताल नलगी धामीझाँक्रीमा विश्वास गरेका थिए।
प्रहरीले बालकको उद्धारपछि दम्पतीलाई परामर्श दिएको छ। परिवारले बालकलाई उपचारका लागि काठमाडौं लैजाने बताएको छ, जसका लागि आवश्यक कागजात बनाउन उनीहरूलाई तेह्रथुम पठाइएको छ। विभिन्न संघसंस्थाले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रहरीले अहिलेलाई सचेत गराएको र यस्तो घटना दोहोरिए कानुनी कारबाही गरिने जनाएको छ।