×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेंगलुरुको प्रतीक्षा समाप्त: आईपीएलको ताज पहिलो पटक शिरमा

बेंगलुरुको प्रतीक्षा समाप्त: आईपीएलको ताज पहिलो पटक शिरमा

काठमाडौं - १८ वर्षको लामो प्रतीक्षा अन्त्य गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार राति भएको रोमाञ्चक फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले पहिलो पटक आईपीएलको प्रतिष्ठित ट्रफी उचालेको हो ।


बेंगलुरुले प्रस्तुत गरेको १९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि २९ रन आवश्यक हुँदा शशांक सिंहले विस्फोटक ब्याटिङ गर्दै ३ छक्का र १ चौका प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्। शशांक ३० बलमा अविजित ६१ रन बनाएर पनि निराश बने। जोश इङ्लिसले ३९ रन जोडे।


बेंगलुरुका लागि भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले किफायती बलिङ गर्दै २-२ विकेट लिए भने जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट हात पारे।


त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। उसका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए।


पञ्जाबका बलर अर्शदीप सिंह र काइल जेमिसनले उत्कृष्ट प्रदर्शन गर्दै समान ३-३ विकेट लिए। अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए।


यो जितसँगै बेंगलुरुले आईपीएल इतिहासमा पहिलो पटक उपाधि जितेको हो। यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल पुगे पनि बेंगलुरु उपाधिबाट वञ्चित हुँदै आएको थियो। यस जितले बेंगलुरुका समर्थकहरूमाझ ठूलो उत्साह छाएको छ।

प्रतिकृया दिनुहोस्