×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजीनामा दिँदै मधेस प्रदेशका मुख्यमन्त्री राउत

राजीनामा दिँदै मधेस प्रदेशका मुख्यमन्त्री राउत

काठमाडौँ- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिने भएका छन् । यसअघि अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएका थिए । 

यसपछि उनले राजीनामाको तरखर गरेको उनीनिकट एक सांसदले जानकारी दिए । ‘अध्यक्षजीले राजीनामा दिनू भनेर भन्नुभएपछि उहाँ (मुख्यमन्त्री)ले राजीनामा दिनुहुन्छ । आज वा भोलिभित्र राजीनामा आउँछ,’ ती सांसदले मकालुखबरसँग भनेका छन् ।

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाऊ, बेटी बचाऊ’ अन्तर्गत छोरीलाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको ठहर भएपछि अध्यक्ष यादव मुख्यमन्त्री राउतसँग चिढिएका छन् ।

दोस्रो चरणमा गरिएको कुनै ब्रान्ड नभएको १७ हजारवटा साइकल खरिदमा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

दोस्रो चरणमा भएको १७ हजार साइकल खरिदमा मुख्यमन्त्री राउत र प्रमुख सचिवको संलग्नता नपाइएको भन्दै अख्तियारले उन्मुक्ति दिए पनि मुख्यमन्त्री राउत नैतिक सङ्कटमा परेका छन् । उनको चौतर्फी चर्को आलोचनासँगै राजीनामाको माग उठिरहेको थियो ।

अख्तियारले पहिलो चरणमा भएको १० हजार साइकल खरिद प्रकरणको पनि अनुसन्धान थालेको छ । खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कुनै कागजातमा समेत आफूले हस्ताक्षर नगरेको तर्क गरेर अख्तियारको दण्डबाट उम्केका मुख्यमन्त्री राउत पहिलो चरणमा दुईपटक गरी १४ हजार भएको साइकल खरिद प्रक्रियामा भने संलग्न छन् ।

प्रतिकृया दिनुहोस्