काठमाडौं- आज जेठ १९ गते, तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको पूरै परिवारको नारायणहिटी राजदरबारभित्र भएको विभत्स हत्याकाण्डको २४औँ स्मृति दिवस । यस दुःखद घटनाको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा आयोजित पारिवारिक भोजका क्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, दिदीहरू शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शोभा राज्यलक्ष्मी शाहीकी छोरी जयन्ती शाह तथा कुमार खड्गविक्रम शाहको गोली हानी हत्या गरिएको थियो ।
घटनामा गम्भीर घाइते भएका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते राजा घोषणा गरिए पनि उनको जेठ २२ गते निधन भयो । दीपेन्द्र अचेत अवस्थामा अस्पतालमा उपचाररत रहँदा उनका काका अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी अधिकार सुम्पिइएको थियो । दीपेन्द्रको निधनपछि ज्ञानेन्द्र राजा बनेका थिए ।
उक्त हत्याकाण्डको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको थियो । समितिले युवराज दीपेन्द्रले नै परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरे पनि आम नेपाली जनताले त्यसलाई हालसम्म पूर्ण रूपमा स्वीकार गरेका छैनन् र घटना अझै पनि रहस्यकै गर्भमा रहेको मानिन्छ ।
पूर्वराजा वीरेन्द्रको परिवारको दुःखद अवसान भएको दिनको सम्झनामा आज विविध कार्यक्रमहरू आयोजना गरिएका छन् । यसै अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गर्ने जनाएको छ ।