नेकपा एमालेको स्थायी समिति बैठक आइतबार(आज) दिउँसो साढे १२ बजे बस्ने भएको छ । असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बस्न लागेको हो । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनले भने– ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो ।’ पार्टीमा १० बुँदे कार्यान्वयनपछि नेताहरूको कार्यविभाजनबारे समस्या देखिएपनि आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेण्डा नरहेको तामाङले बताए ।
एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिएपनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । खासगरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो छ ।