×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फिलिपिन्सविरुद्ध कीर्तिमानी जित, नेपाल सेमिफाइनल नजिक

फिलिपिन्सविरुद्ध कीर्तिमानी जित, नेपाल सेमिफाइनल नजिक

काठमाडौं - आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । 

नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन जोडे । 

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । गुल्सन झा,  दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए । 

यस अघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन जोड्यो । 

नेपालका लागि कुशल भुर्तेलले १ सय ४ रनमा अविजित रहे ।  कुशलले ६१ बल खेल्दा १३ चौका र १ छक्का हिर्काए । 

कुशलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो । यस अघि उनले ७७ रन बनाएका थिए । कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् ।

यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।

 दीपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का हिर्काए । 

कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे । कुशल र  दीपेन्द्रले १ सय ७१ रनको साझेदारी गरे ।  यस अघि पारस खड्का र आरिफ शेखले सिंगापुरविरुद्ध १ सय ४५ रनको साझेदारी गरेका थिए ।  लोकेश बम ६ रनमा अविजित रहे । कुशल मल्लले १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए । फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए । 

नेपालले सोमबार क्यानाडाविरुद्ध खेल्नेछ । सोही दिन ओमान र फिलिपिन्स भिड्ने छन् । 

अर्को समूहमा जर्मनी, आयरल्याण्ड, बहराइन र यूएई रहेका छन् । 

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस्