काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिट निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। यसअघि ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्दा सुनुवाइ हुन नसकेको उक्त रिटको पेसी अब हेर्न मिल्ने गरी तोकिएको हो।
लामिछानेलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत वैशाख ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्, तर एक महिना बितिसक्दा पनि त्यसमा सुनुवाइ हुन सकेको छैन। साथै, आफूलाई थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमाथि पनि सँगै सुनुवाइ हुनेछ। लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता नरहेको र राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाइएको दाबी गर्दै आएका छन्।