×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवादको भूमरीमा काठमाडौं महानगर: बैठक छल्दै बालेन, बजेट कहिले आउने टुंगो छैन

विवादको भूमरीमा काठमाडौं महानगर: बैठक छल्दै बालेन, बजेट कहिले आउने टुंगो छैन

काठमाडौं – देशका अन्य स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहँदा सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौं महानगरपालिका भने आन्तरिक विवादले बन्धक बनेको छ। मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीचको चुलिँदो टकरावका कारण साढे ५ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, जसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया पूर्ण रूपमा ठप्प भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार महिनामा कम्तिमा एक पटक बस्नुपर्ने कार्यपालिका बैठक गत पुसदेखि बस्न सकेको छैन। काठमाडौं टावर निर्माणसम्बन्धी विवादपछि मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई स्वीकार गर्न नसक्नु नै यसको मुख्य कारण मानिएको छ। मेयर शाहले गुरागाइँलाई सदस्यसचिव मान्नुपर्ने बाध्यताका कारण बैठक छल्दै आएको जनप्रतिनिधिहरूको आरोप छ।

विवादकै कारण मेयर शाहको उपमेयर सुनिता डंगोल र अन्य जनप्रतिनिधिहरूसँग पनि सम्बन्ध चिसिएको छ। कार्यपालिकाका ४१ सदस्यले बैठक बोलाउन अल्टिमेटम दिए पनि मेयरले बेवास्ता गरेका छन्। महानगरका प्रवक्ता नवीन मानन्धरले जनप्रतिनिधिबीच कुनै छलफल नहुँदा असार १० भित्र ल्याउनुपर्ने बजेट नै अन्योलमा परेको बताए।

बैठक बस्न नसक्दा विकास निर्माणका कामहरू ठप्प भएका छन् भने नीतिगत निर्णयहरू समेत रोकिएका छन्। वडाध्यक्ष ईश्वरमान डंगोलले मेयरले व्यक्तिगत टकरावलाई थाती राखेर महानगरलाई बन्धक बनाउन नहुने भन्दै तत्काल संवादबाट निकास खोज्नुपर्ने बताएका छन्। यदि समयमै विवाद समाधान नभए काठमाडौं महानगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन नसक्ने निश्चित छ।

प्रतिकृया दिनुहोस्