काठमाडौं - कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
मोरक्कोको रबातमा सम्पन्न लिगमा सहभागी भएर मंगलबार स्वदेश फर्किएकी एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा लगायतले स्वागत गरे ।
विमानस्थलमा एरिकाको स्वागतमा कराते खेलाडी, प्रशिक्षक, समर्थक, उनका आफन्त तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो । बाजागाजासहित उनको स्वागत गरिएको थियो । सो अवसरमा बोल्दै एरिकाले अहिले कांस्य पदक जिते पनि भविष्यमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ अघि बढ्ने बताइन् ।
कराते वान प्रिमियर लिगअन्तर्गत महिला ६८ केजी माथिको तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै एरिकाले फ्रान्सकी खेलाडी क्लेमेन्स पियालाई ६–२ अंकले पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।
विश्वका शीर्ष ३२ खेलाडीहरू मात्र सहभागी हुने यस प्रतिष्ठित लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् । यो नेपाली कराते इतिहासकै एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।