×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री ढुक्क, फेरि बन्नसक्छ दुई तिहाईको सरकार

सुदूरपश्चिमका मुख्यमन्त्री ढुक्क, फेरि बन्नसक्छ दुई तिहाईको सरकार

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री भट्टले प्रदेशसभा सचिवालयमा पत्रसमेत दर्ता गराइसकेका छन् ।

एमाले स्थायी कमिटी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली समूह बाहिर बसेको अवस्थामा पनि मुख्यमन्त्री भट्ट आफू विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । अहिले सरकारलाई समर्थन जारी राखेको एमाले माधव पक्षको साथ पाउनेमा मुख्यमन्त्री भट्ट विश्वस्त छन् ।

प्रदेश सभामा सभामुखबाहेक २४ जना सदस्य रहेको एमालेमा माधव पक्षमा १५ जना रहेका छन् । ओली पक्षमा ६ जना छन् । बाँकी तीन जना अहिले तठस्थ बसेका छन् । यसअघि माधव समूहमा रहेका सांसद तारालामा तामाङ, कुलबिर चौधरी र बलदेव रेग्मी मन्त्रिमण्डल विस्तार भएयता असन्तुष्ट रहँदै तठस्थ बसेका हुन् । उनीहरु माधव पक्ष र ओली पक्ष कुनैमा पनि खुलेको अवस्था छैन । यद्यपि ओली पक्षले तीन जना सांसद आफूतिर आएको दाबी गरिरहेका छन् ।

तीन जना तठस्थ वा ओली खेमा लागेपनि माधव पक्षका १५ जनाको साथ पाएको खण्डमा मुख्यमन्त्री भट्टले कुर्सी जोगाउने देखिन्छ । जम्मा ५२ सदस्यीय प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ । यो समीकरण पूरा गर्न माधव पक्षका १५ र माओबादी केन्द्रका १३ गरी २८ जना सांसद पुग्छन् । यसरी सरकारलाई विश्वासको मत प्राप्त हुन्छ । जनता समाजबादी पार्टीका दुई जना सांसद केन्द्रमा तत्कालिन राजपा पक्षका हुन् । केन्द्रमा सरकारलाई समर्थन गरेकाले यहाँ पनि सोहीअनुसार निर्णय हुनसक्ने देखिएको छ ।

एमाले संसदीय दलले यही जेठ १२ गते प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरिसकेको छ । ‘प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरिसकेका छौँ,’ नेपाल पक्षका एक सांसदले भने । पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको अवस्थामा ओली पक्षका सांसदहरू सरकारलाई समर्थन नदिने निश्चित छ ।

केन्द्रमा ओली सरकारविरुद्ध माओवादी केन्द्र, एमाले माधव पक्ष र कांग्रेसको समीकरण देखिएकाले यहाँ पनि कांग्रेसले सरकारलाई समर्थन गर्ने देखिन्छ । प्रदेशमा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस अहिले प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रको निर्णय पर्खेर बसेको छ । कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले केन्द्रको निर्देशनअनुसार प्रदेशमा पनि निर्णय लिइने बताए । उनले अहिलेसम्म कुनै निर्णय लिइनसकेको बताए । कांग्रेसले पनि समर्थन जनाएको खण्डमा प्रदेश सरकार झण्डै दुई तिहाईको बन्नेछ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनेमा पूर्ण विश्वस्त रहेको माओवादीका प्रमुख सचेतक अक्कल रावलले बताए । उनले कांग्रेसले पनि समर्थन गर्नसक्ने बताए ।

प्रतिकृया दिनुहोस्