विराटनगर - कोशी प्रदेशमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।
उनले मंगलबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर गत आइतबार मात्रै दर्ता भएको राई नेतृत्वको जनता समाजवादी पार्टीमा सनाखत गरेकी हुन् । अशोक राईले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै त्यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल रोज्ने मौका दिइएको छ ।
निर्वाचन आयोगले दिएको समय बमोजिम आफूले अशोक राई नेतृत्वको जसपा रोजेको जानकारी लिम्बूले खबरहबलाई दिएकी छन् । ताप्लेजुङकी लिम्बू कोशी प्रदेशसभामा जसपा नेपालकी एक्ली सांसद थिइन् । उनले अशोक राई नेतृत्वको जसपा रोजेसँगै कोशीमा यादव नेतृत्वको पार्टी सांसदविहीन भएको छ ।
अशोक राई नेतृत्वको जसपाले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई समर्थन गरिसकेको छ । यस्तोमा अब निर्मलाले कोशीमा मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ ।