काठमाडौं - आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले खेलाडीहरूलाई शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली मंगलबार साँझ ६ बजे बेलायततर्फ प्रस्थान गर्नेछ ।
शृंखला सुरु हुनुअघि नेपालले बेलायतको स्थानीय टोली र स्कटल्यान्ड 'ए' टोलीसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ । बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहितकुमार पौडेल भने अनुपस्थित थिए । क्यानका सचिव खड्काका अनुसार, मुख्य प्रशिक्षक ल व्यक्तिगत कारणवश पहिल्यै बेलायत पुगिसकेका छन् र उतैबाट टोलीमा सामेल हुनेछन् । यस्तै, कप्तान पौडेलको परीक्षा चलिरहेकाले उनी दुई दिनपछि मात्र बेलायत प्रस्थान गर्नेछन् ।
टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्कटल्यान्डको घरेलु मैदानमा खेल्न केही कठिन हुने भए तापनि नेपाली टोली त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताए । "स्कटल्यान्डमा खेल्न पक्कै पनि गाह्रो हुन्छ, तर हामीले उनीहरूलाई त्यहाँ पराजित गरिसकेका छौं । सबै खेलाडीहरू शारीरिक रूपमा तन्दुरुस्त रहेकाले टोलीको मनोबल उच्च छ । हामी त्यहाँ उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं," मल्लले भने, "यो शृंखलामा कम्तीमा दुई खेल जित्न सक्यौं भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ ।"
लिग-२ शृंखलाका लागि नेपाली टोली:
रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल ।
यसैगरी, लिग-२ पछि आयोजना हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई पनि टोलीमा समावेश गरिएको छ । किरण र रुपेशले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।