काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले शासक वर्गले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत मधेशवादी दलहरूको सबैको नाम उल्लेख गर्दै शासक वर्गले ‘बूलडोज’ गरेको टिप्पणी गरेका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्दा मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरिएको राउतको भन्दै राउतले आक्रोश पोखे ।
‘कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै, शासक वर्गले बूलडोज गरेको हो’, राउतले भनेका छन्, ‘चरम नस्लवादीहरूको झुण्ड पूरै मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेका हुन् । मधेशले यसको प्रतिकार गर्नेछ ।’
सीके राउत नेतृत्वको जनमत पार्टीले शुरुमै एक जना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमा समेत गएनन् । मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेस केन्द्रित दललाई महत्त्व नदिएको गुनासो हुन थालेको छ ।
कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै #शासकवर्गले बूलडोज गरेको हो। चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, "यो देश तिम्रो होइन" भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ। pic.twitter.com/JjIsS3DzUc
— Dr. CK Raut (@drckraut) January 18, 2023