काठमाडौं - सुरक्षा निकायमा कार्यरत कर्मचारीहरूलाईअब "तँ" भन्न नपाइने भएकाे छ । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएपछि यस्ताे शब्द प्रयाेग गर्न नपाइने भएकाे हाे ।
गृहमन्त्री खाँणले सुरक्षा निकायमा कार्यरत उच्च तहमा व्यत्तिहरूलाई राखेर अब जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्लो पदकालाई ‘तँ’ भनेको सुनिन्छ । नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शव्द प्रयोग गर्नुपर्छ ।
मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन गृहमन्त्री खाँणले दिएको उनको सचिवालयले जनाएको छ । संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न पहिलो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शव्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी भएको हो ।