काठमाडौँ- सर्वोच्च अदालतले संवैधानिक परिषदले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध परेका तीन वटा रिटलाई दरपीठ गरेको छ।
शुक्रबार सर्वोच्च अदालतमा ७ वटा रिट पेस भएका थिए।
त्यसमध्ये अधिवक्ताहरू गीता थापा, प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेका तीन वटा रिटलाई दरपीठ आदेश गरेको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
‘आज तीन वटा रिटलाई दरपीठ भएको छ। चार वटा रिट अध्ययनको क्रममा छन्,’ उनले भने।
उनका अनुसार सार्वजनिक सरोकारको विषयमा रिट दर्ता गर्दा ‘पूरा हुनुपर्ने प्रक्रिया पूरा नभएको’ एउटा कारण दिइएको छ।
दोस्रोमा निवेदकको ‘के कुन हक अधिकार हनन् भएको उल्लेख गर्न नसकेको’ भन्दै दरपीठ भएको हो।
बिहीबार बसेको संवैधानिक परिषदको इजलासले प्रधानन्यायाधीशको रूपमा चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।