काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरु 'छाडा' भएर आक्रमणमा उत्रिए सशक्त प्रतिवाद गर्न आफ्ना नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजावादीहरू अराजक ढंगले आफूहरूमाथि जाइलाग्ने प्रयास गरिरहेको बताए। उनले भने, "यदि उनीहरु छाडा भएर आए भने, त्यसको सशक्त प्रतिकार गर्न तपाईंहरु तयार रहनुस्।"
प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने र भ्रम छर्ने काम गरिरहेको आरोप लगाए। "उनीहरु पैसाको बलमा केही मान्छेलाई भाडामा ल्याएर उफार्ने र गणतन्त्र माओवादीले मात्रै ल्याएको हो भनेर हामीलाई एक्ल्याउने कुप्रचार गरिरहेका छन्," प्रचण्डले भने, "तर गणतन्त्र कुनै एक पार्टीको मात्र नभई सम्पूर्ण नेपाली जनताको हो।"
अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनविरुद्ध निरन्तर संघर्ष गर्दै गणतन्त्रलाई अझ विकसित गरेर समाजवादी गणतन्त्र स्थापना गर्ने गहन जिम्मेवारी र चुनौती माओवादीको काँधमा रहेको बताए। उनले सरकारले नै गणतन्त्रलाई समर्थन गरेको नाममा भ्रष्टाचारीलाई संरक्षण गर्ने, कुशासनलाई प्रश्रय दिने र इमान्दारलाई पन्छाउने काम गरेकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको टिप्पणी गरे।
प्रचण्डले आफ्नो पार्टीले जनतासँग पुनः जोडिने र पार्टीलाई सुदृढ बनाउने नयाँ अभियान सुरु गर्ने उद्घोष पनि गरे।