काठमाडौं - संघीय संसदका सदस्य (सांसद) हरूले स्वकीय सचिव राख्न पाउने सरकारी निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार अब सांसदहरूले राजपत्र अनंकित नभई राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) सरहको स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था गरिएको हो।
राजपत्रमा प्रकाशित नयाँ विवरणअनुसार संसदका विशिष्ट पदाधिकारीहरूको स्वकीय सचिवालयको आकार र स्तर पनि तोकिएको छ। प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सरहको एक जना प्रमुख स्वकीय सचिव राख्न पाउनेछन्। यसका साथै उनीहरूले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) र राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) सरहका थप दुई जना स्वकीय कर्मचारीसमेत राख्न पाउने सुविधा दिइएको छ।
त्यसैगरी, संसदका अन्य महत्वपूर्ण पदाधिकारीहरूको हकमा पनि स्वकीय सचिवको व्यवस्था स्पष्ट पारिएको छ। प्रतिनिधि सभाका विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सङ्घीय संसद्का प्रमुख सचेतकहरू तथा विभिन्न संसदीय समितिका सभापतिहरूले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) सरहको स्वकीय सचिव राख्न पाउने भएका छन्।
पारिश्रमिक र सुविधाको हकमा राजपत्रले कडा नियम तोकेको छ। स्वकीय सचिवालयमा नियुक्त हुने कर्मचारीहरूले सुरु स्केलअनुसारको मात्र तलब सुविधा पाउनेछन्। उनीहरूको पारिश्रमिक तथा भत्ता प्रचलित ऐनको व्यवस्थाअनुसार अनिवार्य रूपमा सम्बन्धित कर्मचारीको बैंक खातामार्फत नै उपलब्ध गराइने राजपत्रमा उल्लेख गरिएको छ।