×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रकाशमानले पत्नीलाई मेयरमा उठाउने अडान लिएपछि कांग्रेसमा किचलो

प्रकाशमानले पत्नीलाई मेयरमा उठाउने अडान लिएपछि कांग्रेसमा किचलो

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा नमजाले पराजित भएका प्रकाशमान सिंहले श्रीमती सृजना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठाउने अडान लिएपछि कांग्रेसभित्र बहस सुरु भएको छ । 

प्रकाशमानले आफू पार्टीमा बलियो बन्दै आएको दाबी गरेका थिए । कोइराला पक्षले आफूलाई सभापति नपत्याएको भनेर उम्मेदवार बनेका उनले खसेको ४६ सय २३ मतमध्ये ३ सय ७१ मतमात्र पाएका थिए । दोस्रो चरणमा भएको सभापतिको निर्वाचनमा उनले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरे । सृजना काठमाडौं १ की महाधिवेशन प्रतिनिधि पनि हुन् । सिंहको सेटिङमा श्रीमती प्रतिस्पर्धी रहनेमा कसैलाई उम्मेदवारी दर्ता गर्न दिइएको थिएन । ‘भाउजु र भाइको लागि भनेर बेग्लै छुट्याइयो, अरुमा मात्र फारम बाँडियो, यहाँ भाउजु र भाइको छ नभर्नु भनियो’ एकजना नेताले भने । प्रकाशमानले काठमाडौं १ बाट निरन्तर ३ पटक संसदीय निर्वाचन जितेका छन् । 

देउवालाई सभापतिमा सघाएबापत उनी मन्त्री बन्ने चर्चा चलेको थियो तर उनी मन्त्री बनेका छैनन् । श्रीमतीलाई मेयर उठाउने शर्तमा उनी मन्त्री नभएका हुन् कि भन्ने पनि अनुमान लगाउन थालिएको छ । सिंहको घर काठमाडौं १ मा होइन तर पनि उनी कांग्रेसको पकड भएको क्षेत्र छानेर काठमाडौं १ बाट उठेका हुन् । २०७४ को निर्वाचनमा उनले विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई ८ सय ३९ मतले मात्र जितेका हुन् । बुबा गणेशमान सिंहको नाम जोडेर राजनीति गर्दै आएका प्रकाशमानले अब फेरि श्रीमतीलाई अघि सार्ने भएपछि पार्टीमा द्धन्द्ध सुरु भएको छ ।

काठमाडौं महानगरका कांग्रेस सभापतिसमेत काठमाडौं २५ नम्बर वडाका वडाध्यक्ष निलकाजी शाक्य पनि मेयरको प्रतिस्पर्धामा छन् । उनी आफू सभापति भएकाले स्वाभाविका दाबेदार भएको बताउँछन् । कांग्रेसबाट पार्टीका पूर्व जिल्ला सभापति, पूर्व सांसद तथा पूर्वमन्त्री तिर्थराम डंगोल, वर्तमान उपमेयर हरिप्रभा खड्गी, काठमाडौं ४ (क) बाट निर्वाचित कांग्रेस सांसदसमेत रहेका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष तथा पार्टीको महानगर समितिका पूर्व सभापति नरोत्तम वैद्यले पनि दाबी गर्दै आएका छन् । गठबन्धन भएकाले जित्न सजिलो हुन्छ भन्ने सोचेर प्रकाशमानले श्रीमतीलाई उठाउन खोजेका हुन् भनें सँगसँगै त्यसको नकारात्मक असर पर्ने र कांग्रेसले हार्न सक्ने अनुमान पार्टीभित्रबाट नै लगाउन थालिएको छ ।

प्रकाशमानले आफूले काठमाडौंमा जे भन्यो पार्टीमा त्यही हुने दाबी गर्दै आएका छन् । महाधिवेशनमा सभापतिमा लज्जास्पद मत ल्याएपछि उनको पनि हैसियत नभएको भनेर भन्न पनि थालिएको छ । उपत्यकाभित्र सिंहको राम्रै प्रभाव भए पनि उनले देशव्यापी सञ्जाल बनाउन सकेका छैनन् । काठमाडौंमा रहेका ३२ वडामध्ये कांग्रेसले १४ वडा र बाँकी एमालेले वडाध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रले महानगरमा वडा सदस्य पनि जितेको छैन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्