×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

गुलशन,सन्दिपको उत्कृष्ट बलिङ,नेपालले ओमानलाई ८१ रनले पराजित

गुलशन,सन्दिपको उत्कृष्ट बलिङ,नेपालले ओमानलाई ८१ रनले पराजित

काठमाडाैँ । आसिफ शेखको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भएको थियो । आसिफले ९७ बलमा ९४ रन बनाए भने गुलसन झाले ५ विकेट लिएपछि नेपालले लिग २ मा ओमानलाई कीर्तिपुरमा पहिलो पटक पराजित गरेको हो । यसअघि तीन पटक ओमानले नेपाली क्रिकेटका घरेलु मैदानमा नेपाललाई पराजित गरेको थियो । यस शृंखलामा तेस्रो जित निकालेपछि नेपालको २४ खेलमा १८ अंक पुगेको छ र नेपाल सातौं स्थानमा यथावत् छ ।

ओमान २८ खेलमा ३१ अंक सहित तेस्रो स्थानमा छ । नेपालविरुद्धको अघिल्लो खेलमा १ सय ३० रन बनाएका ओमानका कप्तान जतिन्दर सिंहलाई नन्दन यादवले सातौं ओभरमा १२ रनमा आउट गरी नेपालले विकेट लिन सुरु गरेको थियो । नन्दनले लगत्तै सिद्धार्थ बुक्कापटनमलाई शून्यमा सिधा थ्रोमा रन आउट गरी नेपाललाई दोस्रो सफलता दिलाए । ओपनर हसनाइन उल वाहव २९ रनमा आउट भए । उनले ४३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । हमाद मिर्जा ५१ बल खेली ४ चौका प्रहार गर्दै ३४, विनायक शुक्ला ४१ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३६, हसनाइन साह १० बल खेली १४ रनमा आउट भए । 

गुलशनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिई आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक एकै खेलमा ५ विकेट लिएका हुन् । २ वर्षअघि क्यानडामा पनि उनले ओमानविरुद्ध ५ विकेट नै लिएका थिए । सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दनले १–१ विकेट लिए ।

कमजोर प्रदर्शनका कारण अघिल्लो खेल खेलेको नेपाली टोलीमा हटाइएका आसिफले यसअघि ९७ बल खेली ७ चौका र ५ छक्का प्रहार गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा यो उनको दोस्रो उच्च स्कोर हो । उनी बाउन्ड्री लाइनमा क्याच भएपछि दोस्रो शतक बनाउन चुकेका थिए । ओमानले पहिलो ओभर नै स्पिनरबाट सुरु गरेको थियो । देब्रेहाते स्पिनर सकिल अहमदले पहिलो ओभर मेडन फालेपछि जितेन रमानन्दीले दोस्रो ओभरको पहिलो बलमै विनोद भण्डारीलाई शून्यमा क्याच गराए । त्यसपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बल खेली ४ चौका प्रहार गरे । 

२८ औं ओभरमा क्रिजमा आएका कप्तान रोहित पौडेल ९ रनमा आउट भए । गुलशन झाले २३ बल खेली २ चौकासहित १७ रन बनाए । उपकप्तान दीपेन्द्रले ३३ रन जोडे । उनले ४२ बल खेली १ चौका प्रहार गरे । तर करण पहिलो बलमै आउट भए भने नन्दन २ र सन्दीप १ रनमा आउट भए ।

आरिफ शेख अन्तिममा आउट भए । उनले २३ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा हसनाइन साहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । ओमानबाट नदिम खानले विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चे । साह र सकिलले २–२ विकेट लिए ।

प्रतिकृया दिनुहोस्