×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुवेतसँग नेपाल पराजित

कुवेतसँग नेपाल पराजित

काठमाडौं-भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।

पहिलो पटक साफ खेलिरहेको कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे ।

नेपालका अन्जन विष्टले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।

खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।

खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा अन्जनले गोल गरेपनि नेपाल ३-१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।

यससँगै साविक उपविजेता नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।  

समूह 'ए' मा रहेको कुवेतले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।

यस संस्करणको साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्रतिकृया दिनुहोस्