काठमाडौं- बागी उम्मेदवारी दिएपछि नेकपा एमालेले निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन्। मिश्र दम्पतिलाई देउवाले आजै बालुवाटारमा पार्टी प्रवेश गराएका हुन्।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले ३० मत पाएका थिए। बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो।