×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पर्वत पहिरो : १० जनाको मृत्यु, १ बेपत्ता

पर्वत पहिरो : १० जनाको मृत्यु, १ बेपत्ता

पोखरा- गतवर्ष पर्वतको दुर्लुङमा एकै रात ९ जना पहिरोमा पुरिए । पुरिनेमा एउटै घरका ६ जना थिए । यो वर्ष दुर्लुङमै थप पीडा परेको छ । शुक्रबार बिहान दुर्लुङ भोगेनीमा एकै परिवारका ५ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

स्थानीय कौशिला पौडेल, बुहारी भगवती पौडेल, नातिनीहरू विमला पौडेल, विनिता पौडेल र नाति विनोद पौडेलले ज्यान गुमाए ।

कुश्मा- ११ सिल्मीमा गएको पहिरोमा परी दिदीको घरमा पाहुना गएका मोदी- ७ की दुर्गा पौडेल र छोरा गणेश पौडेलको मृत्यु भयो । कुश्मा ११ पकुवा ताल्चेमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल तथा उनका ३ वर्षीय छोरा प्रयूश पौडेल र सासु डल्ली पाध्या पौडेल छन् ।

शुक्रबार बिहानै मोदी- ५ को पहिरोमा ५० वर्षीया फूलमाया थापाको ज्यान गयो । बाढी पहिरोले गर्दा पर्वतको सबै सम्पर्कहरू विच्छेद भएको छ । सडक छियाछिया भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पर्वतमा एकैदिन मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै १ जना बेपत्ता छन् ।

‘पानी अप्रत्याशित रुपमा परेको छ । डाँडाहरू पहिरिएका छन् । कतै चिराचिरा परेको छ,’ गण्डकी प्रदेश प्रहरी प्रवक्ता एसएसपी नरबहादुर केसीले भने, ‘उद्धारमा प्रहरी पूर्ण रुपमा खटिएका छन् । तर‚ स्रोत-साधन अभावले उद्धारमा कठिनाइ भइरहेको छ ।’ मौसम खराबीका कारण पनि उद्धारमा समस्या भइरहेको उनले सुनाए ।

वर्षाका कारण खोला बढेपछि पोखरामा एकजनाको खोलामा डुबेर मृत्यु भएको छ । पोखरा-३२ स्थित खुदी खोला तर्ने क्रममा स्थानीय रमेश मगरको मृत्यु भएको हो । बिहीबार र शुक्रबारमात्रै गण्डकीमा बाढीपहिरोले १९ जनाको ज्यान गएको छ ।

११ जना पर्वतका छन् भने ८ जना कास्कीका छन् । अघिल्लो वर्ष पहिरो खसेपछि गृह मन्त्रालयले स्थलगत अध्ययन गरेर पर्वत दुर्लुङका ४५ घर उच्च जोखिममा रहेको भन्दै स्थानान्तरण गर्न सुझाव दिएको थियो । तर सरकारले खासै चासो दिएन । त्यसको परिणाम यसपालि देखियो ।

यसबाहेक यो वर्ष लागेपछि प्रदेशभरिमा २७ जनाको मृत्यु भयो भने ७ जना अझै बेपत्ताको सूचीमा छन् । प्रदेश सरकारले मृतकका परिवारलाई १ लाख, अस्थायी आवासका लागि २५ हजार, घाइतेको उपचारका लागि ५० हजार र खाद्यान्नका लागि १५ हजार रुपैयाँ राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ । प्रदेश सरकारले शुक्रबार आपतकालीन बैठक बसेर राहत र उद्धारमा खटिन मातहतका निकायलाई निर्देशनसमेत दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्