काठमाडौं - चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन् ।
उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको कलाकार दीपाश्री निरौलाले बताइन ।
उनका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।
दीपाश्रीले चम्सुरीको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् । जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् ।
विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’अभिनय गर्दै आएकी चम्सुरीले अन्य केही सिरियल, म्युजिक भिडियालगायत अभिनय निर्देशन समेत गरेकी छन् ।