काठमाडौं - नेकपा माओवादी केन्द्र निकट विभिन्न संगठनहरुले प्रकाश सपुतको ‘पीर’ गीत तत्काल हटाउन भन्दै कार्वाहीको माग गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै माओवादी निकट जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घ, अखिल नेपाल महिला संङ्घ (क्रान्तिकारी), जनसांस्कृतिक महासङ्घ, नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
उक्त गीतले दश वर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दश वर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको छ। भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साँधिएको छ। महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ। यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ। उनले विगतमा बजारमा ल्याएका अन्य म्यूजिक भिडियोहरुका कारण पटक पटक विवादित हुँदै आएका थिए। पछिल्लो भिडियोमा पनि उनले समाजको संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासांगिक दृश्य र संवाद राखेर आफु चर्चामा आउने वदनियत राखेका छन्।’