×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अफगानिस्तानमा जारी लडाइँमा २७ बालबालिका मारिए

अफगानिस्तानमा जारी लडाइँमा २७ बालबालिका मारिए

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा सत्ताइस जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ ।

दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन् । विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ ।

गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ । त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन् ।

सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ । कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको विवरण आएको छ । विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ ।

विस्थापित परिवारका बालबालिका । तस्बिर : एएफपी

‘लामो समयदेखि अफगानिस्तान बालबालिकाका लागि विश्वकै सबैभन्दा खराब स्थल रहँदै आएको थियो तर पछिल्ला साताहरूमा र अझ विगत ७२ घण्टामा त त्यो खराब स्थल झन् खराब बनेको छ,’ युनिसेफ अफगानिस्तानका समान्थ मोर्तले भने ।

बालबालिकाहरू सडकमा राखिएका बम र दोहोरो झडपमा परेर मारिएको बताइएको छ । छोरा गुमाएकी एकजना महिलाले युनिसेफलाई भने अनुसार गत सप्ताहान्तमा उनीहरू सुतिरहेका बेला घरमा गोलाबारी हुँदा उनका दश वर्षे छोराको जलेर निधन भयो ।

आफ्नो घर छाड्न बाध्य भएका कैयौँ बालबालिकाहरू खुला आकासमा सुत्न बाध्य भएको पनि युनिसेफले जनाएको छ । उसले सबै पक्षलाई बालबालिकाहरूलाई हानी नपुर्‍याउन र उनीहरूको सुरक्षा गर्न आह्वान गरेको छ ।

यसैबीच तालिबानले केही दिनभित्रै ६ वटा प्रान्तिय राजधानीहरू नियन्त्रणमा लिएको बताएपछि उत्तरी अफगानिस्तानका हजारौँ हताश मानिसहरू घर छाडेर राजधानी काबुलतर्फ गइरहेका छन् । कैयौँ तालिबानी जाँच चौकीहरू पार गरेर राजधानी पुगेका मानिसहरूले तालिबानले लुटपाट मच्चाएको, मानिसहरूलाई कुटपीट गरेको र महिला र बालबालिकालाई बन्धक बनाएको समेत बताएका छन् । बीबीसी

 

 

प्रतिकृया दिनुहोस्