जापान । साहित्यिक चौतारी नेपाल–जापान शाखाको आयोजनामा नववर्ष विशेष रचना वाचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । ओकुबो स्थित नेवा डाइनिङ हलमा भव्य र अर्थपूर्ण वातावरणका बीच सम्पन्न भएको कार्यक्रममा जाडो मौसमको कठोरतालाई समेत चुनौती दिँदै जापानवासी नेपाली साहित्यप्रेमी, सर्जक, कवि–कवयित्री तथा स्रोताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
२०२६ जनवरी ४ तारिख सम्पन्न उक्त कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा संकल्प प्रतिध्वनित भएको देखिन्थ्यो। कविता, गजल, कथा र अनुभूतिको आदान–प्रदानले नेवा डाइनिङ हल केवल कार्यक्रमस्थल मात्र नभई एक सजीव साहित्यिक चौतारीमा रूपान्तरण भएको अनुभूति गराएको थियो। सिर्जनात्मक वाचनले हलको वातावरण नै ‘गरमागरम’ बनाउँदै उपस्थित स्रोताहरूलाई भावनात्मक यात्रामा डुबाएको थियो।
कार्यक्रममा जापानका लागी नेपाल सरकारका कार्यवाहक राजदूत हरिहरकान्त पौड्याल, एनआरएनए जापानका अध्यक्ष सुबास लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र गोर्खाली, संस्थापक अध्यक्ष तिलक मल्ल, प्रलोपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। त्यस्तै जापानमा सक्रिय महिला नेत्रीहरू अनिता गुरुङ, कालिका थापा, मञ्जु गिरी, चन्द्रा केसी, साहित्यकार तथा मुक्तककार गृष्मा पौड्याल, जापानी नागरिक हारुहितो नोजू, सोना केसी, रविन्द्र दिखुपा, सयपत्री थुलुङ् लगायत साहित्यप्रेमी महानुभावहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ सशक्त बनाएको थियो।
संस्थाका संरक्षक अमरदेव बास्तोला तथा सचिव शारदा पाण्डेको विशेष भूमिका रहेको कार्यक्रममा सुजाता शर्माले स्वागत मन्तव्य राख्दै साहित्य चौतारीको उद्देश्य, यात्राको भाव र भविष्यप्रतिको आशा अभिव्यक्त गरेकी थिइन्। औपचारिक सत्रसँगै निरन्तर बगिरहने साहित्यिक प्रस्तुतिहरूले उपस्थित स्रोताहरूलाई अन्तिम क्षणसम्म बाँधेर राखेको थियो।
कार्यक्रममा गजलकार तथा कविहरू अमरदेव बास्तोला, रविन्द्र दिक्खुपा, सयपत्री थुलुङ्, सुवास पोख्रेल, अविरल पाण्डे, समर प्रेम, राजन घले, म्यामराज राई, शिवराज बुल्तिम, दीया शाह, कमला लम्साल काप्री, प्रविन लामा, दीपा घिमिरे, सुजन वैरागी, सरिता चौधरी, गृष्मा पौड्याल, बिमला घिमिरे, मनिष क्षेत्री, विनोद सोपकोटा, स्मुथ बस्ताकोटी, साबुश्री भुजेल, मञ्जु गिरी, पवि रेग्मी लगायतले प्रस्तुत गरेका सशक्त रचनाहरूले प्रवासी नेपाली साहित्यको जीवन्तता, विविधता र गहिराइलाई उजागर गरेका थिए।
कार्यक्रमको संयोजन अमरदेव बास्तोलाले गरेका थिए भने सञ्चालन शारदा पाण्डेले सहज, सन्तुलित र साहित्यिक गरिमासहित सम्पन्न गरेकी थिइन्। दीया शाह, सुजाता शर्मा, मनकुमारी अमगाईँ, गोपिनी आचार्य, गीता बस्याललगायत सक्रिय सदस्यहरूको सहकार्यमा कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको थियो। मिडिया पार्टनरका रूपमा हिमालयनभोइसका तर्फबाट समर प्रेम, अविरल पाण्डे तथा फोटोग्राफर सागर सुनारको उल्लेखनीय योगदान रहेको थियो। कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष सरिता ढकालले गरेकी थिइन्।