काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा काँग्रेसबाट आंशिक घात भएको स्वीकार गर्दै आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा त्यस्तो नहुने प्रतिबद्धता सत्ता गठबन्धनका अन्य दल समक्ष जनाएका छन् ।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले काँग्रसमा गठबन्धनप्रति इमान्दारिता नदेखिएको भन्दै असन्तुष्टि जनाएपछि देउवाले आगामी दिनमा धोका नहुने प्रतिबद्धता जनाएका हुन् । देउवाले काँग्रेसभित्रको आन्तरिक मतभेदका कारण तालमेल प्रभावकारी हुन नसकेको स्वीकार गरे ।
जसपा अध्यक्ष उपेन्द्र यादव र समाजवादी अध्यक्ष माधवकुमार नेपालले काँग्रेस गठबन्धप्रति इमान्दार नभएकाले एमालेलाई अपेक्षित रुपमा साइजमा ल्याउन नसकिएको बताए । सत्ता गठबन्धनबीच ६ महानगर र ११ महानगरपालिकामा तालमेल गर्ने निर्णय केन्द्रीय स्तरबाटै भएको थियो ।
अन्य स्थानमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भनिए पनि १ सय २८ पालिकामा मात्र तालमेल भएको थियो । तालमेल भएका धेरै स्थानमा गठबन्धनबाटै बागी उम्मेदवारी परेको थियो । बैठकले नगर कार्यपालिका र जिल्ला समन्वय समिति गठबन्धन दलबीच सहमतिका आधारमा चुन्न तल्लका कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।