×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू

राँझा- नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ नं वडालाई आधार मानेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि सर्वेक्षण भइरहेको छ । बस्तीमा रहेका साँघुरो घर, गल्ली, जीर्ण घर, अस्तव्यस्त तार, घरको नक्सा तथा भूकम्प जोखिमबारे घरमा पुगेर अध्ययन भइरहेको अध्ययनमा संलग्न युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले बताउनुभयो । यो अध्ययनबाट नगर क्षेत्रमा आवश्यक खुला क्षेत्रको अवस्था, आश्रयस्थल, स्वास्थ्यचौकीलगायतको विषयमा प्रष्ट जानकारी हुने र विपद् प्रतिकार्यमा सहयोगी हुने उहाँको भनाइ छ ।

भूगर्भविद्का अनुसार, नेपालगञ्ज क्षेत्रको भूबनोट कमजोर रहेका कारण भूकम्पीय हिसाबले उच्च जोखिममा छ । बाँकेमा केन्द्रबिन्दु भएर भूकम्प नआएको भए पनि भूकम्पीय जोखिममा रहेको प्राध्यापक भूगर्भविद् डा दीपक चौलागाईंले बताउनुभयो । बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको भावर क्षेत्रलाई केन्द्र्रबिन्दु बनाएर गत शनिबार मात्रै ४।८ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँकेले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत जोखिमयुक्त घरको पहिचान गरी नगरभित्र विपद् पूर्वतयारी गरी संरचना निर्माण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको सो उपमहानगरपालिकाका विपद् स्रोत व्यक्ति प्रकाश डिसीले जानकारी दिनुभयो ।(रासस)

प्रतिकृया दिनुहोस्