काठमाडौँ — नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनुभवी बैंकर मनोज कुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको ६८२ औं बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो।
यसअघि बैंकको कायममुकायम सीईओको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका ज्ञवाली बैंकिङ क्षेत्रमा आफ्नो स्पष्ट विचार र कुशल कार्यक्षमताका लागि परिचित छन्। उनले नेपाल राष्ट्र बैंक जस्तो नियामक निकायदेखि विभिन्न वाणिज्य बैंकहरूको व्यवस्थापन तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव सँगालेका छन्।
कम्पनी सचिव (सीएस) समेत रहेका ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक जस्ता प्रतिष्ठित संस्थाहरूमा काम गरिसकेका छन्। पूँजीबजार तथा समग्र बैंकिङ क्षेत्रको गहिरो ज्ञान भएका ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा नबिल बैंकले आगामी दिनमा विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप सफलता र उचाइ प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।
यसैगरी, सोही सञ्चालक समिति बैठकले बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ। साथै, प्रमुख कानुन विभागका प्रमुख भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको बैंकले जनाएको छ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको एक अग्रणी र प्रतिष्ठित बैंक हो। एक जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको आर्थिक विकासमा योगदान पुर्याउन बैंक सदैव प्रतिबद्ध रहेको छ। हाल नबिलले देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनहरूमार्फत २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।