काठमाडौं- अमृत क्याम्पस(अस्कल)को आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही असोज १७ देखि १९ सम्म काठमाडौंमा वैज्ञानिक सम्मेलन हुने भएको हो ।
सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल (आईसीएलईएएसएम) को आयोजना हुन लागेको हो । अन्तर्राष्ट्रियस्तरका विषयविज्ञ, अनुसन्धानकर्ताहरूका साथै राष्ट्रका विषयविज्ञ, अनुसन्धानकर्ता र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूबीचमा हाल भैरहेका अनुसन्धान कार्यहरू एक आपसमा आदान-प्रदान गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको क्याम्पसको भौतिकशास्त्र विभागले जनाएको छ ।
अध्ययन अनुसन्धानको सिलसिलामा क्याम्पसको भौतिकशास्त्र विभाग अग्रणी रूपमा रहेको र विभागमा इन्टरनेशनल साइन्स प्रोग्राम आईएसपी स्वीडेनको उपासला विश्वविद्यालयको सहयोगमा एटमोस्पेरिक एण्ड मेटिरियल साइन्स रिचर्स सेन्टर एएमएसआसी सञ्चालनमा छ ।
एएमएसआसी र आईएसपीको सहयोगपछि सम्मेलनमा कार्यशाला गोष्ठी, राष्ट्रिय सम्मेलन, विज्ञान प्रदर्शनी, तालिम गोष्ठीहरू सम्पन्न गरी विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरू र शिक्षकहरूमा अध्ययन अनुसन्धान गर्नु गराउनुका साथै एक आपसमा आदान-प्रदान गराउन सफल रहेने एएमएसआसीका प्रमुख तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना मूल समारोह समितिका संयोजक श्रीराम शर्माले बताए ।
विज्ञान क्षेत्रमा सीमित स्रोत र साधनलाई पनि सदुपयोग गरी अध्ययन अनुसन्धान भएको विश्वसामु अमृत क्याम्पसको नामबाट राष्ट्रलाई पहिचान गराउन सकिन्छ भन्ने पनि सम्मेलनको लक्ष्य छ । भौतिकशास्त्रको यथेष्ट सदुपयोग गर्न र अनुसन्धानलाई अगाडि बढाउन सके देशको विकासमा ठूलो टेवा पुग्नुका साथै समग्र विज्ञान क्षेत्रको सदुपयोग विना राष्ट्रको विकास असम्भव छ भन्ने सम्मेलनको उद्देश्य छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय विषयविज्ञहरूबाट ३० वटा शोधपत्रहरू प्रस्तुतीकरण हुने र राष्ट्रिय विज्ञहरूबाट करीब ४० वटा शोधपत्रहरू प्रस्तुतीकरण हुनेछन् । यसका साथै अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा भएका १५ वटा पोस्टरहरूको प्रस्तुतीकरण पनि समावेश भएका छन् ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५० भन्दा बढी वैज्ञानिकहरूको सहभागिता रहने छ । सम्मेलन हिमालयन होटेल, कुपण्डोलमा हुनेछ भने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन भई तीन दिनसम्म भौतिक उपस्थिति तथा अनलाइन दुबै हाइब्रीड मोडमा सञ्चालन हुनेछ ।