काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले मन मिले ‘लभ’ नमिले बलात्कार भन्ने प्रवृत्ति बढेकाे बताएकी छन् ।
सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै उनले बलात्कार सम्बन्धी घटनामा हदम्याद नराखे दुरुपयाेग हुने सम्भावना रहेकाे बताउँदै याे प्रवृत्ति माैलाएकाे बताइन् ।
पूर्वसभामुख कृष्णबहादुर महरा र पल शाह प्रकरण स्मरण गर्दै उनले हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने उल्लेख गरिन् । उनले भनिन्, ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौँ । जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६/६ महिनासम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’