काठमाडौँ- सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने भएका छन् । गठबन्धन शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने भएका हुन् ।
देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्याङ्क सङ्कलन भइरहेको कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए । उनकाअनुसार तथ्याङ्क सङ्कलन सकिएपछि आजै शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्नेछन् ।
फिर्ता नभए पार्टी अनुशासनको कारबाही हुने उनको भनाई छ । ‘साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौँ । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ,’ नेता पौडेलले भने, ‘अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौँ ।’
माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताए । ‘कतिपय पालिका र वडामा दलहरूले आ-आफ्नो दलका तर्फबाट मनोनयन दर्ता गराएका छन् । संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास भइरहेको छ,’ उनले भने, ‘गठबन्धनका दलहरूबीचको सहमति विपरीत भएको उम्मेदवारी फिर्ता हुन्छ, हामी संयुक्त रूपमा आग्रह गर्छौँ ।’
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । तर केही ठाउँमा गठबन्धनमा असहमति जनाउँदै उम्मेदवारी दर्ता भएको छ भने केहीमा पार्टीबाटै बागी उम्मेदवारी परेको हो ।