काठमाडौं - निर्देशक अनिल बुढा मगरको आगामी चलचित्र 'मितज्यू'मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छिन्। अभिनेत्री लामिछानेको जन्मदिनको अवसरमा नै उनलाई यस चलचित्रमा लिइएको निर्माण टोलीले जनाएको छ।
अभिनेत्री लामिछानेले '१२ सत्ताइस'बाट नायिकाको रूपमा नेपाली चलचित्र क्षेत्रमा पदार्पण गरेकी थिइन्। उनको निर्माण र अभिनय रहेको 'आँखा' गत वर्ष असोजमा प्रदर्शन भएको थियो भने उनको अर्को चलचित्र 'म राजेश हमाल' प्रदर्शनको तयारीमा छ।
गत वर्षको हिट चलचित्र 'घरज्वाइँ'को निर्माण टोलीले निर्माण गर्दै गरेको 'मितज्यू'को छायाङ्कन आगामी मंसिरदेखि सुरु हुनेछ। 'घरज्वाइँ'ले गत वर्ष असारमा प्रदर्शनमा आएपछि ५१ दिनसम्म सफलतापूर्वक चलेको थियो भने दर्शक र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।
यस चलचित्रमा अभिनेता दयाहाङ राई र तेरिया मगर पहिले नै नायक-नायिकाको भूमिकामा छन्। 'मितज्यू' जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। चैत २७ गते (नेपाली नयाँ वर्ष) मा यसको प्रदर्शन हुने घोषणा भइसकेको छ।
महेश राईले यस चलचित्रको कथा लेखेका छन् भने धनबहादुर राई प्रोडक्सन कन्ट्रोलर हुनेछन्।