काठमाडाैँ- सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने विषयमा सहमति भइरहेकाे दाबी गरेका छन् । प्रदेशगत कार्यकर्ता प्रशिक्षणमा रहेका प्रचण्डले साेमबार धनगढी पुगेर यस्ताे बताएका हुन् । पत्रकारहरूकाे प्रश्नमा उनले भनेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा अस्ति छलफल भयाे, यसमा माधवजी, पूर्णबहादुर खड्का, प्रधान मन्त्रीजीसमेत गरी हामी बस्याैँ र गम्भीर ढङ्गले नै छलफल गर्याैँ । प्रधान मन्त्रीजीले पनि त्याे कुरा उठाउनुभयाे । सात प्रदेशमध्येमा सुदूरपश्चिममा भने कांग्रेस सरकारमा छैन । त्यसैले याे कुरामा एक हिसाबले सहमति भइसकेकाे छ ।’
सरकारमा सहभागी हुने सहमति भएपनि कति मन्त्रालय, कुन कुन मन्त्रालय भन्नेमा भने सहमति जुट्न बाँकी रहेकाे प्रचण्डले बताए । ‘सहभागी हुने कुरामा सहमति जुटिसक्याे अब कुनकुन मन्त्रालय र कति मन्त्रालय भन्नेबारे भने सहमति जुट्न बाँकी छ । त्यसमा अब माधवजी पनि सकारात्मक हुनुहुन्छ । उहाँकै दल सबैभन्दा ठूलाे छ । त्याे भएर उहाँनै यहाँ निर्णायक बन्नुभएकाे छ । उहाँले मैले पार्टीमा सल्लाह गरेर खबर गर्छु भन्नुभएकाे छ । उहाँले सहमति खाेज्नुहुन्छ पार्टीमा । त्यसपछि थप प्रक्रिया अगि बढ्छ ।’
यस्तै प्रचण्डले गठबन्धन ठिकठाक ढङ्गले नै अगाडि बढिरहेकाे दाबी गरे । नेपाली कांग्रेसकाे मूल नेतृत्व नै गठबन्धन नटुटाउनेमा दृढ रहेकाे औंल्याउँदै उनले थपे— ‘अरु नेताहरूले जे जे भनेपनि प्रधान मन्त्रीजी गठबन्धनकै पक्षमा हुनुहुन्छ । उहाँले गठबन्धनका दलहरूलाई पिर पर्ने वचन नबाेल्नु भनेर निर्देशनसमेत दिनुभएकाे छ । अहिले गठबन्धन ठिकठाक अगाडि बढिरहेकाे छ । गठबन्धनबारे केही प्रश्नहरू छैनन् अहिले ।’
प्रचण्डले माओवादी जनयुद्धसँग जाेडिएकाे भनिएकाे र त्यसकाे खिल्ली उडाएकाे भनिएकाे प्रकाश सपूतकाे ‘पिर’ गीतबारे भने बाेल्न चाहेनन् । गीतबारे तपाईंकाे धारणा के छ ? भन्ने पत्रकारहरूकाे जिज्ञासामा उनले भनेका छन्— ‘मैले हेर्न पाएकाे छैन । हेरेपछि प्रतिक्रिया दिउँला ।’