काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।
लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’
उनले आफूमाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिलाई सहयोग गर्न राजीनामा दिएको पनि बताए। सत्यतथ्य छानबिन गर्न पनि उनले आग्रह गरे। शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिए तर आफूले कुनै गल्ती नगरेको बताए।
उनले थपे, ‘मैले तपाईँहरूको आवाजलाई सम्मान गरेर राजीनामा दिएको छु। छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहनेछु।’ उनले आफूमाथि एक हैन हजारौं छानबिन समिति बनेपछि कुनै डर नभएको बताए।
शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ भनेर प्रश्न गरे। उनले नैतिकता कसरी गुमाएँ भनेर एमालेलाई सोधेका हुन्। सम्बोधन गर्दै उनले भने, ‘मैले व्यापारीलाई सामान ल्याउन लाएर करका दर बढाएँ ? बच्चाले खाने दुधको भन्सार दर बढाए?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए।
छानबिन समिति गठन भएपछि पनि एमालेले आफूले बोलेको सुन्न नसक्नु राजनीतिक पूर्वाग्रहको पराकाष्टा भएको पनि बताए। ससद्मा शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिए।
उनले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताए। बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको भन्दै अर्थमन्त्रीमाथि सार्वजनिक रुपमा प्रश्न उठेको छ। त्यस क्रममा उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको समयको सीसीटीभी फुटेज माग्दै अर्थ मन्त्रालयमा सूचनाको हकसम्बन्धी ऐन अनुसार निवेदन दिएको थियो ।
त्यसको जवाफमा अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएको थियो। ‘कुन सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ ? यो विषय प्राविधिक मान्छेहरूले अनुसन्धान गर्लान्, मैले डिलिट गर्न पर्ने पनि छैन र यसको ज्ञान पनि छैन’ उनले भने।
राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’