रौतहट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को नभाँचेको टिप्पणी गरेका छन् । रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले जिल्लाको विकासका केही नगरेको ओलीले आरोप लगाएका हुन् ।
रौतहटको गौरमा भएको पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’
बरु प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको ओलीको दाबी छ । ‘म प्रधानमन्त्री हुँदा तरार्इका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’