×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

एप्पल: लकडाउन छल्न कर्मचारीहरू आईफोन कारखानाबाट यसरी भागेका

एप्पल: लकडाउन छल्न कर्मचारीहरू आईफोन कारखानाबाट यसरी भागेका

एजेन्सि- अनलाइनमा शेअर गरिएका भिडिओहरूमा करिब १० जना मानिसहरू जङ्जुको केन्द्रभागमा रहेको कार्यालयबाट हामफालेको देखिन्छ।

राष्ट्रपति सी जिनपिङको कठोर शुन्य कोभिड नीतिका कारण चिनियाँ सर्वसाधारण र व्यापारीहरू निरन्तर रूपमा मारमा छन्।

आईफोन उद्योगमा कति जनामा कोभिडको सङ्क्रमण देखिएको हो भन्ने स्पष्ट छैन।

यद्यपि चीनको हेनान प्रान्तको राजधानी जङ्जुमा गत साता १६७ जनामा सङ्क्रमण देखिएको थियो। रोयटर्स समाचार संस्थाका अनुसार त्यसको अघिल्लो साता त्यहाँ जम्मा ९७ जनामा मात्रै सङ्क्रमण देखिएको थियो।

एक करोड जनसङ्ख्या रहेको उक्त सहरमा आंशिक रूपमा लकडाउन लाग्दै आएको थियो।

अमेरिकामा रहेको एपललाई आईफोन आपूर्ति गर्ने फोक्सकोन जङ्जु कम्प्लेक्समा रहेको छ र त्यहाँ लाखौँ मानिसहरू कार्यरत छन्।

ताइवानमा रहेको फोक्सकोन कम्पनीले कार्यालय छोडेर जान चाहने कर्मचारीलाई नरोक्ने बताएको थियो। 

यद्यपि, चिनियाँ सामाजिक सञ्जालमा शेअर गरिएका भिडिओमा कर्मचारीहरू सार्वजनिक यातायातमा पक्राउमा नपरियोस् भनेर लामो बाटोबाट कार्यालयबाट बाहिर निस्किएको देखिन्छ।

एक २२ वर्षीय सिया थरका कामदारले फाइनान्सियल टाइम्ससँग बोल्दै आफू र आफ्ना सहकर्मीलाई सुत्न दिइएको ठाउँ अस्तव्यस्त रहेको बताए।

"हामी त्यहाँबाट बाहिर निस्किनका लागि प्लाष्टिक र फलामको बारबाट हामफाल्यौँ," उनले भने।

उक्त उद्योग वरपरका क्षेत्रमा कैयौँ दिन लकडाउन गरिएको र सङ्क्रमण देखिएका मानिसलाई दैनिक परीक्षण गर्ने गरिएको कामदारहरूले बताएका छन्।

गत साता फोक्सकोनले खाना खाने ठूलो हलमा रोक लगाएको थियो र मानिसहरूलाई आफ्नै कोठामा बसेर खान भनेको थियो।

कम्पनीले पत्रकारहरूसँग भने हालै निस्किएको आइफोन १४ को उत्पादन बढाइरहँदा "सामान्य अवस्थामा जस्तै उत्पादन गरिरहेको" जनाएको थियो।

आइतवार एउटा विज्ञप्ति जारी गर्दै सरकारले कर्मचारीहरूको सन्तुष्टि र सहजता हेरेर सँगै खाना खान दिनेमा सहमति जनाएको बताएको थियो।

बीबीसीले फोक्सकोनसँग यसबारे प्रतिक्रिया माग गरेको थियो।

चीनको शुन्य कोभिड नीति अन्तर्गत सहरहरूलाई प्रकोप नियन्त्रणका लागि आवश्यकता अनुसार उपायहरू अपनाउन भनिएको छ। त्यसमा पूर्ण स्तरको लकडाउनदेखि नियमित परीक्षण र यात्रा प्रतिबन्धसम्म रहेको छ। 

प्रतिकृया दिनुहोस्