म्याग्दी- दुर्गम क्षेत्र मानिने रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ । सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताए । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन् । बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ ।
रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने सडक निर्माण भएको हो । ठाडाखानीबाट कुइने जोड्ने १२ किलोमिटर दूरीको सडक मार्ग सञ्चालनमा आएको रघुगङ्गा गाउँपालिकाका सवइञ्जीनियर कमल चोखालले जानकारी दिए । यस वर्ष उपभोक्ता समितिमार्फत एक हजार ५०० मिटर सडक निर्माण भएपछि कुइने सडक सञ्जालसँग जोडिएको छ । “सडक स्तरोन्नतिको काम बाँकी छ”, उनले भने । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४० किलोमिटर रहेको छ ।