×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बोको हरामका नेताको मृत्यु भएको घोषणा

बोको हरामका नेताको मृत्यु भएको घोषणा

नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउकाे मृत्युकाे दाबी गरिएकाे छ।  उनले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमा बताएको छ।

समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ।

सेकाउ अघिल्लो महिना पनि मारिएका विवरण आएका थिए। त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो। बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन्।

मिति उल्लेख नगरिएको अडिओ रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल(बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन्।

'भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन्,'  एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा उल्लेख छ।

सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई प्रहरीले मारिदिएपछि उनले उक्त समूहको नेतृत्व गरेका थिए। त्यसयता उत्तर पूर्वी नाइजिरियाको द्वन्द्वमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन्।

पछिल्लो दशकमा उक्त क्षेत्रका अधिकांश हिस्सामा बोको हराम लडाकूहरू सक्रिय छन्। सन् २०१४ मा बोर्नो राज्यको एउटा विद्यालयबाट बोको हराम समूहले सयौँ छात्राहरूको अपहरण गरेको थियो त्यसमध्ये कैयौँ अझै बेपत्ता छन्।

अर्को उत्तर पूर्वी राज्य योबेबाट विद्यार्थीहरूको त्यस्तै किसिमको अपहरण सन् २०१८ मा गरिएको थियो। आइएसडब्लूएपी बोको हरामबाट सन् २०१६ मा अलग भएको थियो। बिबिसीबाट

 

प्रतिकृया दिनुहोस्