चितवन- भरतपुर महानगरपालिकाको ३ वटा वडामा मतगणना गर्न बाँकी रहेको छ । यतिबेला भरतपुरमा वडा नम्बर २६ को मतगणना भइरहेको छ । भरतपुर वडा नं २७, २८ र २९ को गणना गर्न बाँकी रहेको छ ।
यी तीन वटा वडामा १० हजार ३२४ मत खसेको छ ।
वडा नम्बरमा २७ मा ४ हजार ७९, वडा नम्बर २८ मा ३ हजार ३९८ र २९ मा २ हजार ८४७ मत खसेको हो । गणना गर्न बाँकी मत र रेनु दाहालको अग्रता बराबरीजस्तो भएको हुनाले उनको जित अब पक्कापक्की भएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अब रेनु दाहालको जित पक्का भएको बताए । ती नेताले भने, ‘रेनु दाहालको अग्रता र गणना गर्न बाँकी मत बराबरजस्तो छ, अब एकछापे मत विजय सुवेदीको आए पनि रेनुको जित हुने देखिन्छ ।’ उनले गठबन्धनले विजयोत्सवको तयारी भइरहेको पनि बताए ।
मतगणनाअनुसार हालसम्म गठबन्धनबाट मेयरकी उमेदवार बनेकी रेनु दाहालले ४४ हजार ५५५ मत ल्याएकी छन् । विजय सुवेदीले ३४ हजार २९८ मत ल्याएका छन् । स्वतन्त्रबाट उमेदवारी दिएका जगन्नाथ पौडेलले १३ हजार ५८३ मत ल्याएका छन् । मेयरमा विजय सुवेदीभन्दा रेनु दाहाल १० हजार २५७ मतले अगाडि छिन् । जब कि अब भरतपुरमा १० हजार ३२४ मत गणना गर्न बाँकी छ ।
भरतपुर २७ को मतगणना भइरहँदा एमालेका एक कार्यकर्ता मतगणनास्थलमा प्रवेश गरेपछि केहीबेर मतगणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रोकिएको १५ मिनेटमै पुनः मतगणना सुरु भएको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ती मतगणनास्थलमा प्रवेश गरेका एमाले कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।