×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु

काठमाडौं- कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु भएको छ । उपकरणहरू जडान भएको लामो समयपछि शुक्रबारदेखि उक्त सेवा सुरु भएको हो । स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेपछि डायलसिस सेवा सुरु भएको छ ।

शुक्रबार पहिलो दिन कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीका नन्दराज जोशीले सेवा लिएका छन् । तीन वर्षदेखि मिर्गौला बिरामी उनी कैलालीको धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा डायलसिस गराउँदै आएका थिए ।

महाकाली प्रादेशिक अस्पतालमै सेवा पाएपछि जोशी निकै खुसी भएका छन् । धनगढी आउने जाने झन्झट अनि पालो कुर्नुपर्ने बाध्यता लगायतले निकै सास्ती पाउने उनलाई अब भने केही सहज हुने लागेको छ । डायलसिस सेवाका लागि ५ बेडको व्यवस्था गरिए पनि पहिलो चरणमा दुई बेडबाट दैनिक २ जनालाई सेवा दिने लक्ष्य रहेको महाकाली प्रादेशिक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए ।

उनका अनुसार स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेर सेवा सुरु गर्ने अनुमति दिए पनि सूचीकृत हुन नसकेकाले तत्काल पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताए । ‘अहिले अस्पतालका तर्फबाट सेवा दिइरहेका छौं, निःशुल्क सेवाका लागि विभागमा सूचीकृत हुनुपर्छ,’ डा. भट्टले भने, ‘सूचीकृत भएपछि पूर्ण रूपमा सेवा सुरु हुनेछ ।’ उनका अनुसार सूचीकृत भएपछि दैनिक ५ जनालाई सेवा दिन सकिन्छ । एक पटक डायलसिस गर्न कम्तीमा ४ घण्टा समय लाग्छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा. जुजुराज श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डा. खगेश्वर गेलालले डायलसिस सेवाका लागि जडान गरिएको उपकरण लगायत भौतिक अवस्थाको अनुगमन गरेका हुन् । श्रेष्ठ र गेलालकै उपस्थितिमा शुक्रबार एक जनाको डायलसिस पनि गरिएको हो ।

प्रतिकृया दिनुहोस्