काठमाडौं- साताको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० अंकले घटेको छ। आज कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से परिसूचक पौने दुई बजेसम्ममा ५०.६० अंकले घटेको छ। यससँगै, परिसूचक १ हजार ८४२ अंकमा झरेको छ।
यस्तै अहिलेसम्म ७३ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ। आज कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। जसमध्ये, जलविद्युत, विकास बैंक र वित्त समूह ४ प्रतिशतले घटेका छन् भने लगानी समूह, जीवन बीमा समूह र व्यापार समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९६० रुपैयाँ पुगेको छ। यस्तै, आज कारोबारमा आएकामध्ये ६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।