नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टी एकता बचाउन अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने दबाबकाबीच नेपालले बैठक बोलाएका हुन् ।
बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकले पार्टी एकता र सरकारबारे धारणा तय गर्नेछ । पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन् । कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने भनेका बेला नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताएका थिए ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलले अध्यक्ष ओली र नेपालबीच मंगलबार छलफल गराउने प्रयास गरेका थिए । तर, नेता नेपालले भने आज केन्द्रीय कमिटीको बैठक राखेर केही निर्णय गराउने प्रयास थालेको नेताहरु बताउँछन् ।