टोकियो । जापानमा बसोवास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत चिवा क्षेत्रीय समन्वय परिषदले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । लेखन कला मार्फत नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्दै जापानका समसामयिक विषयवस्तुहरूबारे नेपाली समुदायलाई सुसूचित गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
एनआरएनए चीबाका उपसंयोजक तथा यस निबन्ध प्रतियोगिता कार्यक्रमका संयोजक मोहन कार्कीले जनाए अनुसार प्रतियोगिताको शीर्षक – “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” राखिएको छ। सहभागीहरुले यस विषय माथी निबन्ध लेख्नुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट निबन्धकारहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेलाई ७० हजार येन, द्वितीयलाई ५० हजार येन र तृतीयलाई ३० हजार येन पुरस्कार प्रदान गरिनेछ। साथै, सहभागी निबन्धकारहरु मध्यो ७ जनालाई सान्त्वना पुरस्कार स्वरुप जनही ५ हजार येन प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
निबन्ध पेश गर्ने अवधि
निबन्ध २०२६ जनवरी ९ तारिखदेखि जनवरी ३१ तारिखसम्म पेश गर्न सकिनेछ।
नियम तथा सर्तहरू
प्रतियोगितामा सहभागी हुन इच्छुक निबन्धकारले नेपाली भाषामा लेखिएको मौलिक निबन्ध पेश गर्नुपर्नेछ। निबन्ध कम्प्युटर वा मोबाइलबाट टाइप गरिएको हुनुपर्नेछ, अथवा शुद्ध, सफा र स्पष्ट रूपमा बुझिने हस्तलिखित हुनुपर्नेछ। जापानमा बसोवास गर्ने विद्यार्थी, कामदार तथा डिपेन्डेन्ट सबैले सहभागिता जनाउन सक्नेछन्।
यसअघिका शृङ्खलामा प्रथम, द्वितीय वा तृतीय स्थान प्राप्त गरिसकेका निबन्धकारले यस पटक सहभागिता जनाउन नपाउने व्यवस्था गरिएको छ। अन्य प्रतियोगितामा पठाइएका निबन्धहरू दोहोर्याएर पठाउन पाईने छैन भने निबन्ध अप्रकाशित तथा अप्रसारित हुनुपर्नेछ। नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएका निबन्ध अन्यत्र प्रकाशन वा प्रसारण गर्न पाइने छैन।
निबन्धको शब्द सीमा कम्तिमा १२०० शब्द र बढीमा १५०० शब्द तोकिएको छ। सो सीमा नपुगे वा नाघेमा निबन्ध स्वतः खारेज हुनेछ। साथै, एआई लगायतका डिजिटल प्लेटफर्मद्वारा लेखिएका निबन्धहरू स्वतः खारेज गरिने स्पष्ट गरिएको छ।
प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, सम्पर्क नम्बर तथा हालसालै खिचिएको फोटो अनिवार्य रूपमा पठाउनुपर्नेछ। परिचय नखुलेका निबन्धहरू प्रतिस्पर्धामा समावेश गरिने छैनन्। उल्लेखित सर्त तथा नियमहरू पालना नभएमा निबन्ध स्वतः खारेज हुने आयोजकले जनाएको छ।
निबन्ध पेश गर्ने तरिका
निबन्धहरू एनआरएनए चिवाको वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने लिंक बाट मात्र पेश गर्नुपर्नेछ। आयोजकले जापानमा रहेका नेपाली स्रष्टा तथा लेखनप्रेमीहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।